काठमाडौं । बलियो प्रतिस्पर्धी इटलीलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै विश्व च्याम्पियन जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा जर्मनी ५–६ गोल अन्तरले विजयी भएको हो ।

यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुकेका थिए । तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २–२ भयो । सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए।

नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा र्पुयाए ।

खेलको ९० मिनेटभित्र इटालीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो ।

तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल फर्काएर खेल बराबरीमा ल्यायो ।

जर्मन डिफेण्डर जेरोमी बोटेङले डिएरियामा ह्याण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइयो ।

अब जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ।

Comments

comments