काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न चलचित्रकर्मीहरुलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित गर्नुभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा विहीवार अपरान्ह आयोजित कार्यक्रमकाबीच चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारबाट कलाकर्मीहरुलाई सम्मानित गरेको हो ।

सो क्रममा राष्ट्रपति भण्डारीले चलचित्र अभिनेता दयाहाङ राई र नम्रता श्रेष्ठलाई उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको राष्ट्रि पुरस्कारबाट सम्मानित गर्नुभयो । चलचित्र कबड्डी कबड्डीबाट अभिनेता दयाहाङ राई र चलचित्र क्लासिकबाट अभिनेत्री नम्रता श्रेष्ठलाई सम्मानित गरिएको हो ।

यस्तै यसवर्षको उत्कृष्ट चलचित्रको पुरस्कार पशुपतिप्रसादले पाएको छ । सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने पुरस्कृत भएका छन् ।

निर्देशनमा पशुपतिप्रसादबाटै दिपेन्द्र के खनाल पुरस्कृत भएका छन् । आदिवासी चलचित्रतर्फको पुरस्कार गुरुङ भाषाको इम्पो देउरालीले पाएको भने नव निर्देशकमा ड्रिम्सबाट भुवन केसी पुरस्कृत भएका छन् ।

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड भने वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई प्रदान गरिएको छ ।

Comments

comments