मुस्ताङ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०र७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि.सं २०७०र७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो ।

यही रुपमा प्रगति देखिँदै जाने गए अबको ४ वर्षभित्र उत्खननको तहसम्म पुग्ने बताउँदै त्यसका लागि तत्कालै आणविक ऐन बनाउनुपर्ने भूगर्भ विभागको माग छ । विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ ।

खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताउनुभयो ।

लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताउनुभयो । उहाँले कानुन बनाउन पनि मन्त्रालय गम्भीर भएर लाग्ने बताउँनुभयो । सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ ।

Comments