एजेन्सी । टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहार हुँदा कमतीमा ३६ जनाको ज्यान गएको छ ।

युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा यो आक्रमण भएको हो । तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३६ जनाको ज्यान गएको हो । घटनामा ९० भन्दा धेरै घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको पाइएको अधिकारीहरुले बताएका छन् ।

आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीले नागरिकलाई विमानस्थल वरपर नजान आग्रह गरेका छन् । गएको वर्ष सरकार र कुर्द चरमपन्थीबिचको युद्ध विराम भंग भएपछि टर्कीमा यसकिसिमका आक्रमण हुँदै आएका छन् । विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप टयिप एर्डोगानले आक्रमणको निन्दा गरेका छन् । उनले आतंकवाद विरुद्ध संयुक्त अभियानका लागि आह्वान समेत गरेका छन् । यस्तै अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ । जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ ।

Comments

comments