काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने डा. गोविन्द केसीले नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुमाथि मनोगत लाञ्छना लगाएको भन्दै भत्सर्ना गरेको छ ।

आइतवार नै प्रेस विज्ञप्ति जारी गर्दै आयोगले भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरुप्रति लक्षित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक भएको आयोगको ठम्याई रहेको उल्लेख छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई आयोगले चुनौति दिएको छ ।

akhtiyar 1काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको विषयमासरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परीक्षाको निष्पक्षता परीक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोगले स्पष्ट पारेको छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोगले डा. के.सी. लाई थप चुनौति समेत दिएको छ ।

चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अवन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई आयोगको रहेको उल्लेख छ ।

अख्तियार प्रवक्ता कृष्णहरि पुस्करद्धारा हस्तक्षरित उक्त विज्ञप्ति मार्फत आयोगले डा. के.सी.लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधि बाहक नबन्न,बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिइएको छ ।

डा केसीलाई मानसिक रोगीको रुपमा चित्रित गर्दै अख्तियारले उहाँँको स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत सरकारसँग आग्रह गरेको छ ।

Comments

comments