काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको सत्कार नगर्ने बझाङका एक उच्च कर्मचारीको सरुवा गरिएको छ ।

उपप्रधानमन्त्री थापा जिल्लामा आउँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको हो । उनलाई संघिय मामला तथा स्थानीय विकास मन्त्रालयमा जगेडामा रहने गरी सचिव स्तरीय निर्णयबाट सरूवा गरिएको जिल्ला विकास समिति स्रोतले जनाएको छ ।

आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको स्थानीय विकास अधिकारीको सरुवाले जिल्लाको विकास निर्माणको काम प्रभावित हुने भएको छ ।

असास ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्ता बास, खानपानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्ले मार्फत स्थानिय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टा भित्र सरुवा गरिदिने धम्की दिएका थिए ।

सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडि आफूलाई दुव्र्यवहार गर्न थालेपछि सत्याल त्यहाँबाट केही नबोली र्फकेको जिल्ला विकास समितिका एक कर्मचारीले बताए ।

उपप्रधान मन्त्रीले जिल्ला विकास समितिको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकोले सचिवलाई उनको सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए ।

कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै आफूहरुको स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाई छ ।

Comments