काठमाडौं । नक्कली डाक्टर र पाइलट समात्ने अभियान चलिरहेको बेला ड्राइभर पनि नक्कली भेटिन थालेका छन् ।

ललितपुर प्रहरीले एकजना नक्कली ड्राइभर पक्राउ गरेपछि यो रहस्य खुलेको हो । बा ४ ख २३३५ नम्बरको मिनी ट्रक चलाउने सुवास स्याङतानलाई अर्कैको नामको लाइसेन्स लिएर गाडी चलाइरहेको बेला प्रहरीले पक्रेको हो ।

जाँचका क्रममा शंका लागेपछि यातायात ब्यवस्था विभागमा पठाउँदा त्यो लाइसेन्स नम्बर अर्कैको नाममा रहेको पाइएको ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले जानकारी दिनुभयो । उहाँका अनुसार सुवासले प्रयोग गरेको ०६४८११०२ नम्बरको लाइसन्स ओखलढुंगाका सुरज तामाङको नाममा जारी भएको छ ।

सुवासले सुरुमा आफ्नै लाइसेन्स भएको दाबी गरेपनि अनुसन्धानका क्रममा उनले ३५ हजार रुपैयाँमा आफूले लाइसेन्स किनेको बताएको निरीक्षक हाछेथुले जानकारी दिनुभयो ।

सुवासले काभ्रेको कुमार नाम गरेको ब्यक्तिलाई ३५ हजार रुपैयाँ तिरेपछि लिखित परीक्षा तथा ट्रायलसमेत नदिएको र लाइसेन्स कोठामै ल्याइदिएको पनि बताए । लाइसेन्समा नाम बाहेक हस्ताक्षर समेत सक्कली भएको हुनसक्ने उहाँले बताउनुभयो ।

Comments