मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा निर्माणाधीन नेपाली सामुदायिक भवन निर्माणका लागि कन्सुलर जेनेरल चन्द्र योञ्जनले व्यक्तिगत रुपमा ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

भवन निर्माणको सहयोगार्थ शुक्रवार आयोजित फन्ड रेजिङ डिनर कार्यक्रममा योञ्जनले उक्त सहयोगको घोषणा गर्नुभएको हो । यो अष्ट्रेलियाका नेपाली समुदायमा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत सहयोग हो । नेपालीहरुको बाहुल्यता बढ्दै गएको अष्ट्रेलियाको भिक्टोरियामा आफ्नै सामुदायिक भवन हुनु अत्यावश्यक मात्र नभई गर्वको विषय समेत भएको कन्सुलर जेनेरल योञ्जनले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।

भावी पुस्ताका लागि पनि सामुदायिक भवन अत्यावश्यक रहेको उहाँले बताउँनुभयो । त्यसैले यो भवन निर्माणमा यहाँका समुदायको सामाजिक अभियान्तका रुपमा सक्दो सहयोग गर्नु आफ्नो दायित्व भएकाले आफूले सकेको सहयोग गर्न पाउँदा गौरव लागेको उहाँको कथन थियो । आफूले पहिलेदेखि नै समुदायमा गर्दै आएको प्रतिवद्दता आज आएर पूरा गर्न पाएकोमा उहााले खुशी व्यक्त गर्नुभयो ।

कुनै पनि काम गर्छु भनेर मनैदेखि दृढ अठोट गरेपछि पूरा भएरै छाड्ने बताउँदै उहाँले सामुदायिक भवन निर्माणका लागि यहाँका सिंगो समुदाय नै लागिपरेकोले छिट्टै त्यसले मूर्तत पाउँने विश्वास व्यक्त गर्नुभयो । आवश्यक परे भविष्यमा अझ थप सहयोग गर्न पनि आफू तयार रहेको योञ्जनको प्रतिवद्दता थियो ।

शुक्रवार भएको पहिलो दिनको आर्थिक संकलन कार्यक्रममा कुल एक लाख डलर संकलन भएको आयोजकले जनाएको छ ।

Comments