मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो समय नेपाली समुदायको बसोबास बढ्दो छ । अष्ट्रेलिया आउँने नेपालीहरुको रोजाइको शहर बन्न थालेपछि अहिले यहाँ नेपालीको संख्या लगभग १५–२० हजारको हराहरीमा पुगिसकेको छ । आफ्नो समुदायको यसरी बाहुल्यता बढ्दै जानु नेपालीका लागि खुशी र गर्वको विषय हो । बहुभाषी र बहु सांस्कृतिक यो राज्यमा नेपाली भाषा,संस्कृति र परम्परागत एकता अनुपम उदाहरणका रुपमा स्थापित हुँदै गएको छ ।

यसरी मेलबर्नमा नेपाली समुदायको बाहुल्यता बढेसँगै विभिन्न कार्यक्रम र गतिविधिहरुमा पनि तीव्र रुपमा वृद्धि भएको छ । कुनै सांस्कृतिक कार्यक्रमदेखि विवाह र राजनीतिक वहससम्मका कार्यक्रमहरु यहाँ हप्तै जसो हुन थालेका छन् । यसरी आयोजना हुने कार्यक्रम र समारोहहरु एकै स्थानमा गर्न पाए हुन्थ्यो भन्ने कल्पना र चाहना शुरुमा मेलबर्नमा आएका नेपालीहरुकै थिए । अझ सन् १९९७ मा नेप्लीज एशोसियसन अफ भिक्टोरियाको स्थापना भएपछि त नेपालीहरुको आफ्नै साझा भवन बनाउँने कल्पनाले एउटा निश्चित आकार समेत पायो । नेपाली समुदायका हरेक गतिविधिहरु गर्न मिल्ने,नेपाल र नेपालीका बारेमा आवश्यक सम्पूर्ण सूचना र जानकारीहरु उपलब्ध हुने सूचना केन्द्रको काम समेत त्यही बहुसांस्कृतिक भवनबाट गर्ने योजना समेत त्यही बेला बनेको थियो । त्यस यता झण्डै दुई दशक समय वितिसकेको छ । तर यहाँका नेपालीहरुले त्यो सपनालाई कहिल्यै विर्सेनन् ।

त्यसैले अब भने नेपाली समुदायको आफ्नै साझा भवन बनाउँने त्यो सपनालाई साकार बनाउँन सम्पूर्ण भिक्टोरियावासी नेपाली समुदाय योजनावद्ध रुपमा लागेका छन् । र, यहाँ बसोबास गर्ने नेपालीहरुको आफ्नै सामूदायिक केन्द्र बनाउने योजनालाई मूर्तरुप दिने प्रयासहरुलाई तिव्रता दिइएको छ । यसका लागि यहाँका विशिष्ट व्यक्तित्वहरु सम्मिलित एउटा सशक्त समिति समेत गठन गरिएको छ । न्याभका पूर्व अध्यक्ष रञ्जन वैद्यको अध्यक्षतामा रहेको समितिको सचिवमा गोपाल पोखरेल,कोषाध्यक्षमा राजेश आचार्य रहनुभएको छ । यस्तै वोर्ड निर्देशकहरुमा बम योञ्जन,सुधीर शाक्य,ऋषि कँडेल,सुनिल भण्डारी र केशव कँडेल रहनुभएको छ ।

समितिमा अनुपम पोखरेल,कुसुम पोखरेल,दिवाकर बस्नेत र निरा बस्नेत सदस्यका रुपमा रहनुभएको छ ।

fund-raiserसमितिकै सक्रियतामा भवन निर्माणका लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्यले शुक्रवार साँझ सांस्कृतिक कार्यक्रमसहितको गाला डिनर आयोजना हुँदैछ । नेपालको मौलिक कला, संस्कृति झल्कने किसिमले निर्माण गरिने यो सामूदायिक भवनको विस्तृत योजना समेत शुक्रवार नै सार्वजनिक गर्ने तयारी भएको छ ।

स्थानीय ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजना गरिने डिनर कार्यक्रममा सहभागिताको लागि समुदायलाई आह्वान गरिएको छ । यस परियोजनामा भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालय, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, एनआरएनए र अष्ट्रेलियन नेप्लीज मेडिकल डक्टर्स एशोसिएसनले सहकार्य गरेका छन् ।

Comments

comments