काठमाडौं । न्यायिक प्रक्रियामा ‘आपत्तिजनक कार्य’ हुन थालेको भन्दै एकजना न्यायका याचकले बुधबारदेखि सर्वोच्च अदालतमा आमरण अनशन सुरु गरेका छन् ।

कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई लिखित जनाउ दिँदै अधिवक्ता पूर्णचन्द्र पौडेल आमरण अनशन बसेका हुन् । सर्वोच्चको रिट तथा मुद्दा महाशाखाका प्रमुख विपुल न्यौपानेमार्फत कार्कीलाई यसको जानकारीपत्र पठाइएको छ ।

सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीश सिफारिस प्रक्रियाविरुद्ध आफूले दायर गरेको रिटको सुनुवाइ प्रक्रिया अवरुद्ध पारिएको भन्दै पौडेलले गम्भीर आपत्ति जनाएका छन् । उक्त रिटमा सुनुवाइका लागि १४ पटक पेसीमा राख्दा जानाजान ११ पटक स्थगित भएको र तीनपल्ट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको दाबी पौडेलको छ ।

रिटमा न्याय परिषद् सदस्यका लागि पूर्ववर्ती प्रधानमन्त्री सुशील कोइरालाद्वारा सिफारिस गरिएका वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाइ समितिबाट फिर्ता गरेको विषयमा पनि वैधानिकताको प्रश्न उब्जाइएको थियो ।

आफ्नो रिटलाई सुनुवाइ गर्न मिल्ने कुनै पनि न्यायाधीशको इजलासमा अविलम्ब पेसी चढाई बहस सुरु गर्न उनको एक सूत्रीय माग छ । हाल सर्वोच्च अदालतका शाखासमेत रहेको नेपाल बार परिसरमा पाल टाँगेर पौडेलले आमरण अनशन सुरु गरेका हुन् ।

Comments

comments