काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शोकमा डुबेको थियो । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार काठमाडौँ आइपुग्दा आँशु नझार्ने को थियो होला र ? मृतकका आफन्तको उपस्थिति कारुणिक थियो नै सर्वसाधारण पनि आँशु नचुहाई बस्न सकेनन । असारे पानीमा भिज्दै आँशुको धारामा डुब्दै आफनो छोरा, श्रीमान, बुवाको शव लिन पुगेका थिए उनीहरु । पीडाको पोखरीमा डुबेपनि मुटु कठोर बनाउदै बुझे शव उनीहरुले ।

कालो बादल नीलो आकाशमा,
गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा…

अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार विमानस्थलमा ल्याइर्पुयाउँदा रमेश बीसीको गीतलाई धेरैले सम्झिए ।

वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको शिकार बनेको तीनदिनपछि उनीहरुको शब कफिनमा राखेर देश ल्याइएको थियो । राम्रो कमाएर परिवारको सुखद भविष्यको कामनाका साथ अफगान हानिएका उनीहरु कफिनमा बसेर फर्किनेछन भनेर कस्ले पो सोंचेको थियो होला र ? ४ महिनाको काखे बालकले पिता गुमायो । आमाले जागिर छोडेर नेपाल फर्किन आश देखाएको छोरो फर्केर आएन । कत्तिको सपना चक्नाचुर भयो । कतिको विश्वास च्यातिए । स्कुले छोराछोरीको आखामा कहिल्यै नबिर्सिने घाउ लाग्यो । र आशुँको वागमती बगाउदै शव बुझे परिवारले ।

यी रुपन्देही बुटवलकी सञ्चिता थापा चार महिनाको दुधे बालक बोकेर आफ्ना पति जीतेन्द्र सिंह थापाको शव बुझ्न एयरपोर्ट आइपुगेकी थिइन । उनले आँशुले सहस्र धारा बगाउदै देशमा रोजगारको व्यवस्था भएको भए यो दिन देख्नु नपर्ने भन्दै दुःख मनाउ गरिन ।

काठमाडौं धुम्बाराहीका चन्द्रबहादुर राना मगरको शव लिन उनकी पत्नी गंगाकुमारी राना विमानस्थल पुगेकी थिइन् । उनी सँगै उनकी दुई छोरी र छोरा आइपुगेका थिए । शुक्रबार राति भएको अन्तिम कुराकानीमा बुवाले आमाको राम्रो रेखदेख गर्नु भनेको रानाकी छोरी आस्था सम्झिन्छन् ।

एयरपोर्टमा कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए । विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । काबुलमा ज्यान गुमाएकाहरको पत्नी, छोराछोरी तथा आफन्त भावविहृवल थिए । देख्नु नपर्ने यस्तो दृश्य जतिले देखे, उनीहरुको कामना थियो , फेरि नेपालीको घरमा यस्तो बज्रपात कहिल्यै नपरोस ।

Comments