काठमाडौं । विश्व कपका डिफेण्डिङ च्याम्पियन जर्मनी जारी युरोकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । समूह सीको विजेता बनेर जर्मनी दोस्रो चरण प्रवेश गरेको हो ।

अन्तिम १६ मा स्थान बनाएको जर्मनी समूहको अन्तिम खेलमा नवप्रवेशी नर्दन आयरल्याण्डमाथि १–० को कठिन जित दर्ता गरेको हो ।

पेरिसमा मंगलवार राति भएको खेलमा जर्मनीको जितमा २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश समय खेल नियन्त्रणमा लिएको जर्मनीले गोल गर्ने धेरै राम्रा मौका खेर फाल्यो।

यसअघि युक्रेनलाई २–० ले हराएको तथा पोल्याण्डसँग गोलरहित बराबरी खेलेको जर्मनीको सात अंक भएको छ ।

यसैबीच जर्मनीसँग पराजित भए पनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको छ । टर्कीले चेक रिपब्लिकलाई २–० ले हराएपछि नर्दन आयरल्याण्ड उत्कृष्ट तेस्रोमा पर्दै अन्तिम १६ मा पुगेको हो ।

अघिल्ला खेलमा पोल्याण्डसँग १–० ले हारेको नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको थियो ।
अब जर्मनीले अन्तिम १६ मा समूह ए वा बी वा एफ को तेस्रो स्थानमा रहनेमध्ये एक टीमसँग खेल्नेछ ।

Comments