काठमाडौं । अहिले प्रदर्शनमा रहेको फिल्म गाजलुकी नायिका श्रृष्टि श्रेष्ठले पत्रकारहरुको सातो खाएकी छिन् ।

सोमबार चितवनको नारायणगढमा फिल्म ‘गाजलु’ टीमले गरेको पत्रकार भेटघाटमा नायिका श्रृष्टिले अनौठो व्यावहार देखाएकी हुन् । इन्द्रदेव हलमा कलाकार र दर्शकसँगै बसेर फिल्म हेर्ने कार्यक्रम रहेको भन्दै पत्रकारहरुलाई डाकिएको थियो । जिल्लाका दर्जन बढि पत्रकार हलमा पुगे । फिल्मका निर्देशकसहित अधिकांश कलाकार उपस्थित रहेकाले पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम राखियो । निर्देशक हेमराज बिसी, नायक गौरव पहारी, नायिका श्रृष्टि श्रेष्ठ,नायक सलोन बस्नेत लगायतका कलाकारहरु उपस्थित थिए ।
पत्रकारहरुले फिल्मसम्बन्धि जिज्ञासा राख्दै जाने क्रममा जब श्रृष्टिको पालो आयो, तब एउटा पत्रकारको प्रश्नले उनी एकाएक आवेशमा आइन् । ‘मिस नेपाल भइसक्नुभएका तपाई त्यहि चर्चा टिकाइराख्न फिल्मतिर आउनुभाको हो ?’ भन्ने आशयको प्रश्न आएपछि श्रृष्टि एकाएक आक्रोशित भइन् । कतिसम्म भने उनले जवाफ दिन आवश्यक ठानिन् बरु उल्टै प्रतिप्रश्न गरिन् ‘मेरो बारेमा के रिसर्च गर्नभाछ ? मेरो बारेमा के थाहा छ ?’

साथै उनले आफ्नो बारेमा बुझेर मात्रै प्रश्न गर्न पनि चेतावनी दिइन् । उनले पत्रकारको प्रश्न सोध्ने शैली नै गलत भएको आरोप लगाइन् । तर केहि बेरपछि श्रृष्टिले आफुलाई सम्हाल्न खोजिन् । पत्रकारले सधै आफुलाई नकरात्मक तवरले प्रश्न गर्ने गरेको बताइन् । उनले आफू रहरले टाइमपासको लागि फिल्म नखेलेको प्रस्ट्याइन् । आफुले दुई बर्ष बेलायतमा अध्ययन गरेको र मण्डलामा अभिनय पनि सिकेको बताइन् । भविष्यमा फिल्ममै स्थापित हुने उनले उल्लेख गरिन् ।

Comments

comments