काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिवानले गरेको आत्मघाती बम बिस्फोटमा परेर ज्यान गुमाएका १२ नेपालीको पहिचान खुलेको छ । उक्त घटनामा परेकाहरुको पहिचान नेपाल सरकारले सोमवार नै सार्वजनिक गरेको हो ।

आतंकवादीहरुले गरेको आत्मघाती घटनामा परी ज्यान गुमाउनेहरुमा अकुल तामाङ सुनसरी , चन्द्रबहादुर रानामगर,काठमाडौं,हरिबहादुर बडवाल क्षेत्री काठमाडौं,विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं, अमृतबहादुर थापा लमजुङ,सुपबहादुर गुरुङ स्याङ्जा, डम्बरबहादुर तामाङ नुवाकोट,मधुसुदन कोइराला नुवाकोट र लिलबहादुर गुरुङ नुवाकोट रहेका छन् । यस्तै अन्य मृतकहरुमा नवीनसिंह क्षेत्री पर्वत, कृष्णबहादुर ढुंगाना, चितवन र जितेन्द्रसिंह थापा बुटवल रहेका छन् । घाइते भएका ७ जना नेपालीहरुमा प्रेमबहादुर क्षेत्री, मोरङ्ग, चेतप्रसाद शेरचन म्याग्दी, कुमारबहादुर गुरुङ्ग,मानबहादुर थापा चितवन, कृष्णकुमार देउजा चितवन,अमृत रोकया क्षेत्री सुर्खेत र च्याङ्गवा तामाङ्ग नुवाकोट रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि घटनाको बारेमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले व्यवस्थापिका संसदमा जवाफ दिनुभएको थियो । उहाँले अफगानिस्तानमा भएको उक्त घटनाको निन्दा गर्दै यस विषयकोे थप जानकारीको लागि पाकिस्तानका लागि नेपालका कार्यवाहक राजदुत नेतृत्वको टोलीलाई कावुल जान र मृतकको शव पठाउन आवश्यक प्रवन्ध मिलाउन निर्देशन समेत दिनुभएको थियो ।

परराष्ट्रमन्त्री कमल थापाले नेपालीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउँन आफगानी सरकारलाई आग्रह गरिएको पनि बताउँनुभयो । उहाँले घाइते नेपालीहरुको उचित उपचारको व्यवस्था गर्न पनि अफगान सरकारको ध्यानाकर्षण गराएको जानकारी संसद वैठकलाई दिनुभयो ।

काबुलस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपालीहरु क्यानाडेली दूतावासतर्फ जाने क्रममा आक्रमणमा परेका थिए । नेपालीहरु सवार मिनीबसलाई लक्षित गरी सोमबार बिहान ५ः४० बजे आक्रमणकारीले आत्मघाती बम हमला गरेका थिए ।

Comments