नवलपरासी । नेपाली फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषाको उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको नवलपरासी प्रहरीले निस्कर्ष निकालेको छ ।

प्रहरीले आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्दैछ ।

मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । २१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

अनुसन्धान सकेर असार २ गते नै घटनाको मिसिल सरकारी वकिलको कार्यालय नवलपरासीमा बुझाइसकेको बताइएको छ । घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।

Comments