काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र चितवनबाट पक्राउ गरेका ३६ जना चिकित्सकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक खोज्ने र पक्राउ गर्ने अभियान सशक्त र प्रभावकारी बनाएसँगै शुक्रबार ठूलो सङ्ख्यामा चिकित्सक पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको कमान्डमा रहेको टोलीले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा कार्यरत चिकित्सकहरू सरोज सिंह, कु्शराज गिरी र पन्नालालप्रसाद पटेललाई निजी क्लिनिकबाट पक्राउ गरेको हो । यस्तै नेसनल मेडिकल कलेजका चिकित्सकहरू रामकुमार प्रधान, निमेशपाल रमन, इर्सादुल हक र मोहम्मद रहु्लालाई पनि कलेज परिसरबाट प्रहरीले पक्राउ गरेको छ । निजी ल्किनिक सञ्चालन गर्दै आएका चिकित्सक दिनेशकुमार साह र काठमाडाँैस्थित नर्भिक र अल्का अस्पतालमा कार्यरत चिकित्सक अरुणकुमार गुप्ता पनि पक्राउ परेका छन् । पक्राउ परेका चिकित्सकहरूले भारतका विभिन्न ठाउँबाट आईएस्सी र बीएस्सीको नक्कली प्रमाणपत्र लिएको प्रहरीले दाबी गरेको छ ।

त्यसैगरी विराटनगरमा प्रहरीले तीनजना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । ब्युरो प्रहरीले नियन्त्रणमा लिएका चिकित्सकमध्ये वरिष्ठ फिजिसियन डा. जावेद अख्तर अन्सारी, वरिष्ठ बालरोग विशेषज्ञ डा. सञ्जय दास र डा.अब्दुल कलाम छन् ।

चितवनवाट तीन जना चिकित्सक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कँुवरका अनुसार पक्राउ पर्नेमा डा. रजनी अग्रवाल, डा. सुनील आचार्य र डा. राजन पुरी छन् । डा. अग्रवाल र डा. आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र डा. पुरीलाई गोर्खाको पालुङटारमा सञ्चालित स्वास्थ्य शिविरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ब्युरो प्रहरीले चार महिनाअघि ‘क्वाक’ अप्रेसनका नाममा सुरु गरेको नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकको खोजी अनुसन्धान र पक्राउ अभियानमा यसअघि १७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा वरिष्ठ तथा सरकारी अस्पतालमा लामो समय बिताएका चिकित्सकसमेत छन् ।

पक्राउ परेका उनीहरुलाई ठगी मुद्धामा म्याद थप गरि आबश्यक अनुसन्धानका लागि काठमाण्डौँ जिल्ला अदालतबाट समय माग गरिएको छ । अदालतले यी डाक्टरहरु उपर छानविनका लागि सिआईबीलाई अनुमति दिएको छ ।

Comments

comments