मेबलर्न । सिड्नीबाट विगत लामो समयदेखि नेपाली विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउँदै आएको राईट एण्ड एशोसिएट्सले मेलबर्नबाट पनि सेवा शुरु गरेको छ ।

भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले शनिवार एक समारोहकाबीच मेलबर्न शाखाको उद्घाटन गर्नुभयो । स्थानीय लिटिल कोलिन स्ट्रीटमा अवस्थित कार्यालयको शुभारम्भ गर्दै महावाणिज्यदूत योञ्जनले नेपाली समूदायका साथै अष्ट्रेलियामा रहेका अन्य समूदायसम्म आफ्नो सेवा विस्तार गर्दा अनुचित प्रतिस्पर्धा नहुने बताउनुभयो । उहाँले एउटा संख्या थप्ने काम भन्दा गुणस्तरमा जोड दिन पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियामा कार्यरत नेपाली एजुकेशन एजेन्टहरुको संस्था एक्काका उपाध्यक्ष महेश भण्डारीले थोरै नाफामा धेरै सेवा दिँदा पनि आफुहरुप्रतिको धारणा सकारात्मक हुन नसकेको स्वीकार गर्नुभयो । त्यसैले संख्यामा भन्दा गुणस्तरीय सेवामा सबैले ध्यान केन्द्रित बन्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा बोल्दै निर्देशकहरु परशुराम अधिकारी र बाल भट्टराईले सही सूचना र भरपर्दो सेवालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । १६ वर्ष अघि नेपालको चितवनबाट सेवा शुरु गरेको राईट एण्ड एशोसिएट्सले सिड्नी हुँदै मेलबर्नसम्म शाखा विस्तार गरेको हो ।

वन स्टप सोलुशनको नारालाई अघि बढाउँदै शैक्षिक परामर्शका साथै एकाउन्ट, होम लोनका साथै अन्य वित्तिय सेवा पनि मेलबर्न शाखाले प्रदान गर्ने बताइएको छ । यसका लागि चार्टड एकाउन्टेन्ट राजेश आचार्यको लोटस स्मार्ट एकाउन्टसँग सहकार्य गरिने बताइएको छ । राईट एशोसिएट्सको मेलबर्न शाखा प्रमुख सुरेश क्षेत्री रहनुभएको छ ।

Comments