काठमाडौं । बेल्जियमले फ्रान्समा जारी यूरोकपमा पहिलो जीत हात पारेको छ ।

शानिवार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डमाथि ३–० गोलको शानदार जीत निकाल्दै बेल्जियमले नकआउट चरणमा प्रवेशको सम्भावनालाई जीवितै राखेको हो ।

बेल्जियमको जीतमा लुकाकुको दुई गोलको योगदान रह्यो । युरो कपमा पहिलो जित हात पारेसँगै बेल्जियमको नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ भने स्वीडेनमाथि दबाव बढेको छ ।
बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाटै बेल्जियम हावी भयो ।

४८ औं मिनेटमा लुकाकुले गोल गरे । उनले केभिन डी ब्रुयनेको पासमा गोल गरेका हुन् । र, युरो २०१६ मा बेल्जियमको यो नै पहिलो गोल बनेको छ । पहिलो खेलमा भने बेल्जियमले इटलीसँग २(० गोल अन्तरको हार व्यहारेको थियो ।

६१ औं मिनेटमा विट्सलले अग्रता दोब्बर पारे । खेलको ७० औं मिनेटमा इडन हजार्डको पासमा लुकाकुले व्यक्तगत दोस्रो गोल गर्दै बेल्जियमलाई जित दिलाए ।

यो समूहबाट इटली नकआउट चरणमा पुगिसकेको छ । र, समूह चरणको अन्तिम बेल्जियम र स्वीडेन नै आमनसामने हुनेछन् । यदि इटलीले रिपब्लिक अफ आयरल्याण्ड हराए वा बराबरी खेले बेल्जियमलाई बराबरी भए पुग्छ ।

तर, स्वीडेनलाई भने जित आवश्यक हुन्छ । बराबरीले भने समूहको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्ने विकल्प बाँकी रहनेछ ।

Comments

comments