एजेन्सी । फ्रान्समा जारी युरोकप दर्शकहरुको रवैयाका कारण विवादमा पर्दै आएको छ । एकपछि अर्को खेलमा दर्शकहरु हिंसात्मक गतिविधिमा संलग्न भएपछि आयोजक राष्ट्र फ्रान्स थप तनावमा परेको छ ।

शुक्रवार भएको क्रोएसिया र चेक रिपब्लिकबीचको खेलको क्रममा रंगशालमै झडप भएको छ । खेलको अन्तिम समयतिर क्रोएसियाका समर्थकहरु आफूआफू नै लडेका थिए । उनीहरुले मैदानमा आगो सल्किएको बस्तु फ्लेयर्स समेत फालेका थिए । क्रोएसियाले २–१ को अग्रता लिएको अवस्थमा रंगशालाको एक कुनाबाट क्रोएसियाका समर्थकले आगो सल्किएका बस्तु फ्लेयर्स मैदानमा फालेका हुन् । खेल २–२ को बराबरीमा सकिपछि क्रोएसियाका समर्थकले सान्टी चिएनामा रहेको रंगशालामा तोडफोड नै सुरु गरेका थिए । उनीहरुले १५ वटा फ्लेयर्स मैदानमा फालेका थिए । क्रोएसियाका खेलाडीले आफ्ना समर्थकलाई शान्त हुन आग्रह गरेपनि उनीहरुले खेलाडीमाथि नै आगोको लप्का र बोतलसहितका बस्तु प्रहार गरेका थिए । समर्थकहरुबीच झडप भएपछि खेल पाँच मिनेट अवरुद्ध भएको थियो । समर्थकले प्रहार गरेको फ्लेयर्सबाट क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकी अलिकतिले मात्रै जोगिएका थिए ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घट्नाको निन्दा गर्दै आफ्नो अनुशासन कमिटिले यस विषयमा छानबिन गर्ने जनाएको छ । क्रोएसिया यसमा दोषी पाइएमा प्रतियोगिताबाटै बाहिरिने खतरा छ ।

टर्कीसँगको पहिलो खेलमा पनि क्रोएसियाका समर्थकले हुलदंगा गरेका थिए । त्यो खेलमा क्रोएसियाका समर्थक मैदानमै पुगेका थिए भने त्यहाँ पनि उनीहरुले मैदानमा फ्लेयर्स फालेका थिए । क्रोएसियाका प्रशिक्षक एन्टी कासिसले भने मैदानमा आगो सल्किएको बस्तु फाल्ने आफ्नो समर्थक नभएको दाबी गरेका छन् । उक्त क्रियाकलाप आतंककारीहरुको भएको जिकिर गर्दै उनले यस्तो हिंसात्मक गतिविधि गर्ने क्रोएसियाको समर्थक हुन नसक्ने बताए । उनीहरु गुण्डा रहेको प्रशिक्षक कासिसको जिकिर थियो ।

Comments

comments