आ आफ्नै उदेश्य र सपना बोकेर अष्ट्रेलिया आएका केही नेपाली चेलीबेटीहरुलाई देहव्यापार जस्तो घृणित पेशामा अग्रसर हुन बाध्य पारेको विषयमा हिमालयन कङ्गारुले प्रकाशन गरेको समाचारले अष्ट्रेलियन नेपाली समुदायमा नयाँ वहस छेडेको छ ।

विश्वसनीय श्रोत र नेपालकै अग्रणी सञ्चार माध्यमहरुले विगतमा प्रकाशन गरेको समाचारको फलो अपका रुपमा हामीले प्रकाशन गरेको उक्त समाचारको आशय अष्ट्रेलियन नेपाली समुदायको भावनामा चोट पुर्याउँनु थिएन र होइन पनि । बरु विभिन्न आश्वासन बाँडेर विद्यार्थीहरुलाई अष्ट्रेलिया पुर्याउँने र परिबन्धमा पार्ने शैक्षिक परामर्श दिने संस्थाहरुको नियमनमा नेपाल सरकारले देखाइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्नु थियो । यसमा नेपाली दूतावास र सरोकारवला निकायहरुको ध्यानकर्षण गराउँनु समाचारको उदेश्य थियो । हिमालयन कङ्गारुले अष्ट्रेलियन नेपाली समुदायको स साना गतिविधिदेखि राजनीतिक र सामुदायिक सरोकारका थुप्रै विषयहरुमा निरन्तर साथ दिदै आएको सबैलाई विदितै छ । तर कहिले काहीं समाज र समुदायभित्र भेटिएका अध्याँरा पक्षहरुलाई पनि उजागार गर्नु पत्रकारिताको धर्म हो भन्नेमा हामी अनविज्ञ छैनौं । किनभने अन्ततः यस्ता अँध्यारा कुराहरुको उजागारपछि शुद्ध र सफा समाजको निर्माण हुन्छ भन्ने हामीलाई लाग्छ ।

तर कहिले काहीं विषय वस्तुको गाम्भीर्यतालाई नबुझ्दा र बुझाउँन नसक्दा भ्रमको अवस्था सिर्जना हुन सक्छ । यदि त्यस्तो अवस्था सिर्जना भएर सम्मानित अष्ट्रेलियन नेपाली समुदायको भावनामा भुलवश कुनै ठेस पुग्न गएमा मर्यादित पत्रकारिताको मर्म अनुसार हिमालयन कङ्रगारु भूल सुधार गर्दछ । साथै भविष्यमा यस्ता कुराहरुमा सदैव सचेत रहेर नेपाली समुदायको पहिचान,अधिकार र समृद्धिका पक्षमा हाम्रो पत्रकारिता निरन्तर रुपमा जारी रहने प्रतिवद्दता समेत व्यक्त गर्दछौं । धन्यवाद ।

Comments

comments