काठमाडौं । आफ्नो दलित थर लुकाउन दाङका एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन् ।
तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ ।

उनले आफूले मात्रै थर फेरेनन्, श्रीमती तथा छोराछोरीलाई पनि गुरुङ थर लेखाएका छन्। उनले गुरुङ थरबाट राहदानी पनि बनाइसकेका छन् । जब सोही नागरिकताधारी वीरबहादुर गुरुङले इलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानीका लागि २०७२ साल असोजमा आवेदन दिन गए अनि प्रशासनले पहिला नै राहदानी बनिसकेको हुनाले त्यो हस्तलिखित राहदानी र नागरिकता प्रशासनमा ल्याउन भन्यो ।

त्यसपछि वीरबहादुर गुरुङ छाँगाबाट खसेजस्तै भए । त्यसअघि उनले राहदानी बनाएकै थिएनन् ।
हाल तुलसीपुर १० डाँडागाउँ निवासी गुरुङले २०४५ जेठ ४ गते नागरिकता बनाएका थिए । त्यसको एक दिनअघिमात्रै पहिलो सोही गाउँमा बस्ने र हाल तुलसीपुर ५ मा बस्दै आएका वीरलाल नेपालीले पनि नागरिकता प्राप्त गरेका थिए । दुवैको नाम प्रशासनको ढ्ड्डामा सँगसँगै थियो ।

तर वीरलाल नेपालीले २०६२ साल भदौ ६ गते इलाका प्रशासन कार्यालय तुलसीपुरबाट वीरबहादुर गुरुङको नागरिकता प्रतिलिपी माग गरे । त्यतिमात्र होइन, त्यही नामबाट राहदानी पनि बनाइसकेका छन् ।

सोधखोज गर्दै जाँदा छिमेकी वीरलाल नेपालीले आफ्नो नामको नागरिकता निकालेको थाहा भएपछि उनीहरुबीच बिबाद भयो । त्यसबेला बीरलाल नेपालीले आफूले थर लुकाउन गुरुङको नामबाट नागरिकता निकालेको बीरबहादुर गुरुङलाई बताएका थिए ।

Comments