काठमाडौं । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो ।

नोटका विशेषताहरु :

गैंडाको केटो सहितको तस्बिर :

सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचना अनुसार बजारमा आइसकेको सय रुपैयाँको नोटमा माउ र केटो गैंडाको तस्बिर छ । पूरानो नोटमा एउटा मात्र गैंडाको तस्बिर थियो ।

विशेष प्रविधिको छपाइ :

राष्ट्र बैंकले नक्कली नोटको बिगबिगी भएपछि नयाँ नोटको विशेष छपाइमा सावधानी अपनाएको छ । पछिल्लो समय छापिएका नयाँ नोटका विशेषतामा व्यापक परिवर्तन गरेको छ । नयाँ नोटमा सुरक्षा धागो, जनावरको चिह्न लगायतमा परिवर्तन गरेको हो। सयको नोटमा अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनले छामेर नोट पहिचान गरुन् भनेर एउटा कालो थोप्ला समेत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

लुम्बिनीको प्रचार :

नोटको पानी छापमा पहिले जस्तै लालीगुँरासको फोटो राखिएको छ । फिट मेडल फिचरमा मायादेवीको चित्र छ । यसको साथै अंग्रेजी भाषामा ’लुम्बिनी– द बर्थ प्लेस अफ लर्ड बुद्ध’ पनि लेखिएको छ । नोटको बोर्डरमा नेपालीमा विसं २०७२ र अंग्रेजीमा २०१५ एडी लेखिएको छ ।

नयाँ गभर्नरको हस्ताक्षर :

पहिलोपटक गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सय दरका नयाँ नोट चीनमा छापेर ल्याइएको हो । उनी पोहोर चैत ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए । उक्त नोट प्रमाणीकरण गरेर सोमबारदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङ एन्ड सिक्टिङ कर्पोरेसनलाई दिएको थियो । चीनमा छापिएका सय दरका नोट कोलकातासम्म पानी जहाजमा ल्याई त्यहाँबाट रक्सौलसम्म रेलमा ल्याइएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै राष्ट्र बैंकको ढुकुटीमा ल्याइएको हो ।

पहिलो खेपमा ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट आएको छ । कुल २० अर्ब मूल्य बराबरका सय दरका नयाँ नोट ल्याएको राष्ट्र बैकले जनाएको छ । सय दरका नयाँ नोट धमाधम चीनमा छाप्दै नेपाल ल्याउने काम भइरहेको छ । राष्ट्र बैंकले असारको अन्त्यसम्ममा नयाँ नोट छापेर ल्याउन उक्त कम्पनीसँग सम्झौता गरेको थियो।

राष्ट्र बैंकले बजारमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट ल्याउँदै छ । २०, ५० र १०० दरका नोट धमाधम विदेशमा छापिएर ल्याइँदै छ भने ५०० दरका नोट छाप्न नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ ।

Please follow and like us:

Comments