मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भारतीय विद्यार्थीहरुमाथि आक्रमण भएको छ । भारतीय मुलका पाँच जना किशोर विद्यार्थीहरुमाथि करिब १५ जनाको समूहमा रहेका अफ्रिकी किशोरहरुको समूहले आक्रमण गरि कुटपिट गरेका हुन् ।

सोमवार भएको आक्रमणबाट भारतीय विद्यार्थीहरु गम्भीर घाइते भएका छन् । आक्रमणकारीहरुले सेल्फी स्टिक र फुटबलले हमला गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

ब्रेक टाइममा बसिरहेको बेला अफ्रिकी किशोरहरुले अचानक बलले आक्रमण गरेको एक पीडित विद्यार्थीले बताए । त्यसपछि शुरु भएको ग्याङ फाइटमा भारतीय विद्यार्थीहरु निर्घात रुपमा कुटिएका छन् । आक्रमणकारीहरु १२ देखि १७ वर्ष उमेरका रहेको बताइएको छ । आक्रमणकारीहरुले कुटपिट पछि भारतीय विद्यार्थीहरुका पैसा,हेडफोन र खेल सामाग्रीहरु समेत लुटेर लगेका छन् ।

आक्रमणकारी समूहका केही विद्यार्थीहरु पनि एउटै स्कूलमा अध्ययनरत रहेकोले फेरि पनि झडपको आशंका रहेको प्रहरीले जनाएको छ । त्यसैले यसबारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Comments