काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आज एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ । आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने बताइएको छ ।

नयाँ शक्ति नेपालको बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ । घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेका छन् ।

कुपन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसैबीच, पार्टी घोषणासभामा सहभागी हुन निम्ता गरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नजानुहुने बताइएको छ । पार्टी प्रशिक्षणको लागि शुक्रबार धनगढी पुग्नुभएका दाहाल आइतबार बेलुकी ६ बजे मात्र काठमाडौं फर्किने कार्यक्रम रहेकोले नयाँ शक्तिको घोषणा कार्यक्रममा सहभागी हुन असमर्थ रहेको दाहालको स्वकीय सचिवालयले जनाएको छ ।

Please follow and like us:

Comments