काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । मन्त्रिपरिषदको स्वीकृतिमा उपराष्ट्रपति पुन ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

चीनको युन्नान प्रान्तीय जनकंग्रेस स्थायी समितिको निमन्त्रणमा उहाँ भ्रमणमा जान लाग्नुभएको हो । जुन १२ देखि १७ सम्म युन्नान प्रान्तको कुन्मिङ् शहरमा आयोजना हुने चौथो चीन–दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेला तथा २४ औं चीन–कुन्मिङ् आयात निर्यात व्यापार मेलामा सहभागी हुन उपराष्ट्रपति पुनलाई कुन्मिङको निम्तो आएको हो ।

भ्रमणका क्रममा उहाँले आगामी आइतवार आयोजना हुने चौथो चीन दक्षिण एशिया व्यापार मेलाको उद्घाटन समारोह र त्यसै दिन हुने ११ औं चीन दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उहाँको पत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोजकुमार घर्ती, उपराष्ट्रपतिको एडिसी प्रमुख सेनानी मनोजकुमार सिलवाल लगायतका छन ।

चीनमा रहँदा चिनियाँ उपराष्ट्रपति, चीन सरकारका उच्च पदाधिकारीहरु, युन्नान प्रान्तका सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

Please follow and like us:

Comments