मेलबर्न । भनिन्छ सत्कर्ममा लाग्नेहरु कहिल्यै एक्लै हुँदैनन् । उनीहरुका सपना पनि अधुरा रहँदैनन् । किनभने उनीहरुलाई साथ दिने हजार हुन्छन् ।

यस्तै सत्कर्म गर्दै भूकम्पपीडितहरुको लागि घर बनाउन लागिपरेका हास्य कलाकारहरु सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मस र सुन्तली)लाई विश्वव्यापी रुपमा नेपालीहरुबाट सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा अष्ट्रेलियाबाट फेरि करिब १२ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । सहयोग संकलनमा पुर्नवासमा आएका नेपालीभाषी भुटानीहरुले समेत साथ दिएका छन् ।

धुर्मुस र सुन्तलीले भुकम्पपीडितहरुको लागि निर्माण गर्ने भनेको सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि अष्ट्रेलियाको सिड्नी र एडिलेडमा रहेका युवाहरुले सामुहिक रुपमा यो रकम संकलन गरेका हुन् । संकलित रकममध्ये करिब आधा रकम पठाइसकिएको छ भने बाँकी रकम फाउण्डेसनलाई चाँडै नेपाल गएर हस्तान्तरण गरिने बताइएको छ । कट्टेल र घिमिरेले भुकम्पपीडितहरुलाई बसोबासका लागि घर निर्माण गर्न स्थापना गरेको फाउण्डेसनमार्फत रकम हस्तान्तरण गरिने सहयोग संकलनमा लागेका युवाहरुले बताएका छन् ।

सिड्नीमा रहेको युवाहरुको संगठन जय नेपाल फाउण्डेसनले एक सातामा संकलन गरेको ३ लाख २० हजार रुपैयाँ र एडिलेडमा दीपक लामा लगायतका युवाहरुले संकलन गरेको १ लाख ८२ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिसकिएको छ भने थप २ लाख रुपैयाँ संकलन गरिसकिएको लामाले बताउँनुभयो । यसैगरि सिड्नीमा रहेका युवा विपिन थापा लगायतको सक्रियतामा संकलन भएको ३ लाख रुपैया केही दिनमा नै नेपाल गएर हस्तान्तरण गरिने जानकारी दिएका छन् ।

यता एडिलेडमा पुर्नवास कार्यक्रम मार्फत आएका नेपालभाषी भुटानीहरु समेत रकम संकलनमा लागिपरेका छन् । उनीहरुले स्थानीयरुपमा सञ्चालन गरिरहेको रेडियो पहिचान मार्फत सुरु गरेको अभियानमा बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, सांसद निक च्याम्पेन र स्थानीय काउन्सिलका मेयर जीलेन अल्ड्रिज लगायतले समेत सहयोग प्रदान गरेका थिए ।

अहिलेसम्म २ हजार ६ सय डलर संकलन गरिसकिएको र केही दिनमा नै रकम फाउण्डेसनलाई हस्तान्तरण गरिने रेडियो पहिचानका ईन्द्र अधिकारीले बताउँनुभयो ।

Comments