काठमाडौं । जंगल जान पनि अब परिचयपत्र बोकेर जानुपर्ने भएको छ । परिचय पत्र साथमा नहुनेलाई कारवाही गर्ने नीति बनाइएपछि परिचय पत्र बोकेर मात्र जंगल जान पर्ने व्यवस्था नेपालकै बझाङमा लागू गरिएको हो । बझाङ स्याँडी गाविसका बासिन्दालाई यस्तो व्यवस्था लागू गरिएको हो ।

केही वर्ष अगाडी वन जंगलको महत्व नबुझेर जंगल फडानी भइरहेको स्याँडी गाविसमा जंगल बचाउँन यस्तो व्यवस्था लागू गरिएको हो । जंगल जान परिचय पत्र अनिवार्य गरेपछि जंगल जोगाउन फाइदा पुगेको छ । जंगलको महत्व बुझ्न थालेपछि परिचय पत्र अनिवार्य बनाएको स्थानीय गोपाल बोहराले बताउनुभयो ।

जिल्लामा सञ्चालनमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले जलवायु परिवर्तनले मानव जीवनमा विभिन्न प्रकारका समस्या देखा पर्ने र त्यसबाट बच्न केके गनुपर्छ भन्ने जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेपछि आफूहरुले वन जंगल जोगाउन पहल गरेको उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेपछि वनजंगल जोगाउन विश्वका विभिन्न देशहरु लागिपरिरहेका छन् । बझाङका विभिन्न वन जंगलबाट दारकाठ चोरी तस्करका कारण जंगल फडानी भइरहेको छ । अहिले स्याँडी गाविसका बासिन्दा वन जंगल जोगाउनका लागि सक्रीय रुपमा लागि परेका छन् । स्याँडी गाविसमा रहेको कालीका समुदायिक वनका उपभोक्ताले वनभित्र प्रवेश गर्दा परिचय पत्र बिना गएको खण्डमा जरीवाना समेत गर्ने गरेका छन् ।

वन जंगल जोगाउन स्थानीय बासिन्दा मिलेर समिति समेत गठन गरेका छन् । अहिले गाई भैँसी तथा पशु चौपाया समेत वनमा लग्न बन्द गरी जंगलको रेखदेख र वृक्षारोपण समेत भइरहेको छ । विनाश भइसकेको सामुदयिक वन अहिले हरीयाली अवस्थामा फर्किएको छ ।

Comments

comments