-दीपेन्द्र दोङ तामाङ

मेरो नियमित जिम्मेवारी रात्री डेस्क हो । तर सोमवार कारणवश विहानी डेस्कमा थिएँ । नियमित बुलेटिनको तयारीमा थियौं,एउटा स्रोतको फोन आयो–राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधन भयो ।

एउटा मिडियाका लागि त्यो आफैंमा ठूलो समाचार थियो । अझ त्यो भन्दा ठूलो त्यो समाचार दिने स्रोत थियो । कलाकारिता क्षेत्रमै लामो समय विताएका ती स्रोतलाई अविश्वास गर्नु ठूलो स्कूपलाई गुमाउँनु थियो । त्यसैले दोधारमा परें । मान्छे त्यसमाथि राष्ट्रकै सम्मानित व्यक्तित्वको मृत्युको खबर ब्रेक गर्नु अघि त्यसको सत्यता पुष्टि गर्न आवश्यक छ भनेर मेरो भित्री चेतना र विगतको तीतो अनुभवहरुले मलाई रोकिरहेको थियो । त्यतिञ्जेलसम्म कसैले पनि त्यो न्यूज ब्रेक गरिसकेका थिएनन् । यता हामी समाचारको सत्यता पुष्टि गर्ने अर्को स्रोतको खोजीमा थियौं । तर कुन स्रोतबाट सत्यतथ्य कुरा आउँन सक्छ भनेर गम्दै थियौं ।

एउटा मिडियाका लागि त्यो आफैंमा ठूलो समाचार थियो । अझ त्यो भन्दा ठूलो त्यो समाचार दिने स्रोत थियो । कलाकारिता क्षेत्रमै लामो समय विताएका ती स्रोतलाई अविश्वास गर्नु ठूलो स्कूपलाई गुमाउँनु थियो ।

अन्ततः ग्राण्डी हस्पिटल नजिकै रहेकोले क्यामेरा पर्सन भए पनि पठाएर समाचारको पुष्टि गर्ने निर्णयमा पुग्यौं । त्यसबीचमा सबै मिडियाहरुले ब्रेकिङ न्यूज हाल्न भ्याए । सबैको समाचार थियो–वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन । त्यसपछि झन् दबाबमा पर्यौं । प्रतिस्पर्धाको होडबाजीमा आफूले पाइसकेको स्कूप न्यूजमा समेत आफू पछि पर्नु नैतिक दबाब पर्ने कुरा थियो । तर त्यस्तो दबाबमा पनि हतारो गरिहाल्नुहुन्न भन्ने चाहिं थियो ।

बरु पाँच मिनेट ढिलो हालौं,सही समाचार दिऊँ भन्ने सल्लाह भए पछि डेस्कमै रहनुभएका टिभी जर्नलिष्ट मित्र योगेश खपाङ्गीजीलाई ग्राण्डी हस्पिटल स्रोतलाई फोन सम्पर्क गर्न लगाएँ । र, उहाँले हस्पिटलका सूचना अधिकृत विनोद अधिकारीलाई फोन गर्नुभयो । फोन उठाउँने वित्तिकै अधिकारीजीले एकोहोरो समाचार गलत भएको भन्दै आपत्ति जनाउँनुभयो । आफूले विहान मात्र गुरुङको स्वास्थ्य अवस्था परीक्षण गरेको र पल्स अझै चलिरहेको भन्दै मृत्युको खबर गलत भएको जिकिर गर्नुभयो ।

त्यही अनुसार हामीले न्यूज फ्ल्यास गर्ने तयारी गर्यौं–वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनको समाचार निराधार । गुरुङको स्वास्थ्य स्थिति गम्भीर र स्थीर । समाचारप्रति अस्पतालको आपत्ति ।

टाइप गरिसकेर पनि ब्रोडकास्ट गर्न अघिसम्म न मृत्यु नै भैसकेर पनि कुनै कारणवश हामीलाई मात्र सूचना लकाएको हो कि भन्ने लाग्यो । त्यसैले कन्फर्म हुनका लागि डाक्टर अधिकारीलाई फेरि फोन गरियो । यसपटक पनि उहाँले अघिल्लै जानकारी दिनुभयो,खण्डन सहित । त्यतिञ्जेलसम्म ५ मिनेट वितिसकेको थियो । केहीलाई छोडेर सबै टेलिभिजनहरुले उही ब्रेकिङ न्यूज दिइ नै रहेको थियो । अनलाइन र सामाजिक सञ्जालहरु भरिभराउ भैसकेको थियो । सबैतिर एकोहोरो मृत्युको खबर प्रसारण र प्रकाशन भैरहेको बेला हामी भने त्यसको खण्डनको समाचार दिइरहेका थियौं,मानौं हामी नै अम्बरका परिवार हौं अथवा ग्राण्डी हस्पिटलले सञ्चालन गरेको टेलिभिजन चलाइरहेका छौं । न्यूज फ्ल्यास चलिरहेको थियो,मनमा अझै आशंका यथावत थियो । तर स्रोतमाथिको विश्वास पनि थियो । कतिसम्म भने त्यही रहेका केही साथीहरुलाई पनि शायद अविश्वास लागेर होला फेसबुक मार्फत श्रद्धाञ्जली दिन भ्याइसकेछन् ।

यता टेलिभिजनमा दोहोरी चलिरहेको थियो–सबैले अम्बरको निधन भएको खबर ब्रेक गरि नै रहेको थियो, यता हामी चाहिं उक्त खबर निराधार रहेको भन्दै खण्डन गरिरहेका थियौं । करिब आधा घण्टापछिको दोहोरीपछि बल्ल अरु केही मिडियाले आफ्नो समाचार सच्यायो–क्षमा याचना सहित ।

यसपटक ठूला भनिएकाहरु नै चिप्लिए,त्यही पनि राष्ट्रका महान स्रंष्टाको निधनको समाचारमा । आखिर यसमा के कारण हुन सक्छ ? स्रोत र साधानको अभावले पक्कै थिएनन् । समाचारको गाम्भीर्यता नबुझेर भनेर पत्रकार मित्रहरुको अवमूल्यन गर्न मेरो धर्मले दिदैन । तर सत्य के हो भने पिप्ली लाइभको ह्याङ ओभरले गर्दा यति गम्भीर त्रुटी भएको कुरालाई चाहिं सबैले स्वकीकार्नै पर्छ ।

(पत्रकार तामाङ न्यूज २४ टेलिभिजनका समाचार सम्पादक हुन् । )

Comments

comments