काठमाडौँ । मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दै आएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।

नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन्, त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग छन् ।

विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाबारे जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिए ।

यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उनले बताए ।

झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।
चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।

त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए

Comments

comments