काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका ६ हजार घर बनाउने जिम्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ तथा आईएनजीओ) लाई दिएको छ। यी एनजीओ र आईएनजीओले एउटा घर निर्माण गर्न औसतमा दुई लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म विनियोजन गरेको छ।

ती एनजीओ र आईएनजीओले १२ अर्ब २८ करोड १८ लाख ७७ हजार नौ सय ८१ रुपैयाँमा ६ हजार सात सय ५९ वटा निजी आवास, एक सय ३३ वटा विद्यालय र दुईवटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने जिम्मेवारी पाएका छन्। आफूसमक्ष पेस भएका २७ वटा संस्थाका परियोजना प्रस्तावलाई स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले असमानतापूर्वक राहत वितरण गरेको आरोप लगाउँदै एकद्वार प्रणालीबाट पुनर्निर्माण थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधिको दफा ९ को उपदफा ६ अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनोटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरिएको हो।

सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणका बीचमा त्रिपक्षीय सम्झौता हुने व्यवस्था छ।

प्राधिकरणका अनुसार नेपाल रेडक्रसले सात अर्ब ३७ करोड ९४ लाख दुई हजार ९० रुपैयाँमा १६ जिल्लामा ६ हजार घर निर्माण गर्नेछ। रेडक्रसले गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, ओखलढुंगा, मकवानपुर, काभ्रे, तनहुँ र लमजुङमा ६ हजार घर बनाउँदा औसतमा एउटा घरको खर्च १२ लाख २९ हजार नौ सय रुपैयाँ गर्ने देखिन्छ।

Comments

comments