काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।

आजै बसेको संसदको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनुभएको हो । जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै क्षत्रीय सन्तुलन मिलाएर ल्याएको बताउनुभयो ।

‘बजेटले सबै क्षत्रीय सन्तुलन पाएको छ’, उहाँले भन्नुभयो, ‘बजेटले विकास, पूर्वाधार र निर्माणलाई ध्यान दिएको छ ।’

त्यसैगरी, अर्थमन्त्री पौडेलले बजेटमा दाङसहितका तराईका चार जिल्लालाई आधुनिक शहर बनाउने भनेर छुटाइएकोमा सांसदहरूले आपत्ति जनाएका थिए । सांसद दीपक गिरी, योगेन्द्र चौधरीले तराईका जिल्लालाई दिइएको आधुनिक शहर निर्माणसम्बन्धी बजेट उपलब्ध गराउन माग गर्नुभयो ।

अर्थमन्त्री पौडेलले तराईका १८ जिल्लाका लागि सदरमुकामहरूमा पचास–पचास करोड रुपियाँ खर्च हुने गरी नौँ अर्ब बिनियोजन गरेको भन्दै यसलाई अन्यथा नलिन आग्रह गर्नुभयो । उहाँले तराईका जिल्लाहरूका सदरमुकामहरूलाई बिनियोजन गरेको रकम फ्रिज नगर्ने व्यवस्था गरिएको बताउनुभयो ।

सरकारले झापा, मकवानपुर, चितवन र दाङलाई आधुनिक शहर बनाउन बजेट नदिएपछि सांसदहरूले कडा आपत्ति जनाएका थिए । सांसदहरूको आपत्ति पछि अर्थमन्त्री पौडेलले आगामी दिनमा अरु जिल्लाहरूमा पनि यो व्यवस्था लागू गर्ने भन्दै तत्काल चार जिल्लालाई आधुनिक शहरका लागि पैसा नदिने बताउनुभयो ।

अर्का सांसद बुद्धिराम भण्डारीले दाङ–सल्यान–सुर्खेत जोड्ने सडक निर्माणमा सरकारले बजेटमा छुटाएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद योगेन्द्र चौधरीले अर्थमन्त्रीले पाल्पा र रुपन्देहीमा दुई वटा मेडिकल कलेज भइसकेको स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘पाल्पा र रुपन्देहीमा दुई वटा मेडिकल कलेज छन् ।

त्यस्तो ठाउँमा किन स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहियो ? राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बनाउने धेरै कुरा अगाडि बढिसकेको थियो । यसलाई बजेट रोक्नु गतल छ ।’

हुलाकी सडक निर्माणका लागि ढिलासुस्ती नगर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । ‘हुलाकी सडक निर्माण हुन्छ’, उहाँले भन्नुभयो, ‘किसानलाई पेन्सन दिने विषय अध्ययन गरेर मात्रै कार्यान्वयन गर्नुपर्छ, अहिले त्यो अध्ययनको चरणमा छ ।’

Comments

comments