काठमाडौँ । अमेरिकाले फ्रान्समा हुने युरोकप फुटबलमा आतंककारी आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

युरोकप फुटबल जेठ २८ गतेदेखि फ्रान्समा सुरु हुनेछ । गर्मी महिनामा धेरै पर्यटक फ्रान्स जाने भएकाले त्यहाँ चरमपन्थी आक्रमण हुन सक्ने खतरा बढेको अमेरिकाको गृह मन्त्रालयले जनाएको छ । पर्यटकीय स्थल, रेस्टुरेन्ट, बजार, बस तथा रेलवे स्टेसनमा आक्रमणको बढी खतरा रहेको अमेरिकाले जनाएको छ । फ्रान्सका १० शहरमा हुने युरोकप एक महिनासम्म चल्ने छ । यसअवधिमा हुने ५१ खेल २५ लाख भन्दा बढी दर्शकले रंगशालामै गएर हेर्ने अपेक्षा गरिएको छ । १० लाख भन्दा बढी मानिस फ्रान्सभन्दा बाहिरी देशका हुन सक्ने जनाइएको छ । खेलको सुरक्षाका लागि ९० हजार सुरक्षाकर्मी खटाइने छ ।

अमेरिकाले गएको वर्षको नोभेम्बरमा पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरी आतंककारी आक्रमण भएको र त्यसले गर्दा पनि युरोकपको अवसरमा आक्रमणको खतरा बढी रहेको भन्दै युरोप जाने आफ्नो देशका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ ।

पछिल्लो २० वर्षमा अमेरिकाले युरोप जाने आफ्ना नागरिकका लागि सर्तक रहन भन्दै ट्राभल अलर्ट जारी गरेको यो तेस्रो पटक हो ।

Please follow and like us:

Comments