काठमाडौं । विश्वको नम्बर एक सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।
देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्नो पेजमा राख्नेगर्छ । जसलाई गुगल डुडल पनि भनिन्छ ।

गुगलले गत वर्ष जस्तै यसपटक पनि नेपालको गणतन्त्र दिवसका लागि विशेष डुडल बनाएको हो । गत वर्ष भूकम्प गएको एक महिनामात्रै भएकोले नेपाल सरकारले औपचारिक रुपमा गणतन्त्र दिवस नमनाउने घोषणा गरेको थियो । त्यसैले गुगलले आफ्नो डुडलमा “हालै नेपालले भोगेको विनाशकारी भूकम्पछि हाम्रो मन र मुटु सम्पूर्ण नेपाली तथा विपत्पछि प्रकोपमा परेका परिवारलाई राहत र्पुयाउन काम गरिरहेका छौँ” लेखिएको थियो । तर यसपालि भने नेपालको राष्ट्रिय पंक्षी नौरंगी डाँफेसहित ह्यापी नेपाल रिपब्लिक डे २०१६ लेखिएको छ । त्यसमा क्लिक गर्दा नेपालको गणतन्त्र दिवस सम्बन्धीका जानकारी र समाचारहरु खुल्दछ ।

नेपालबाट गुगल सर्च गर्ने सवैले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् । नेपाली प्रयोगकर्ताहरुले यसलाई सामाजिक संजालमा सेयरसमेत गरिरहेका छन् ।

Comments