काठमाडौं । शानिवार नवौं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । विक्रम सम्वत २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट सुरु भएको गणतन्त्र दिवसले आज आठौं वसन्त पार गर्दै नवौं वर्षमा प्रवेश गरेको हो । संविधानसभाबाट संविधान जारी भएपछिको यो पहिलो गणतन्त्र दिवस हो ।

तत्कालीन राज ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणासँगै दलहरु संविधानसभाको निर्वाचनमा होमिएका थिए । वि.सं. २०६२–०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । वि.सं. २०६४ सालको चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले केही विवाद र दबाबका बीच देशलाई गणतन्त्र घोषणा गरेको थियो ।

२०६४ सालको संविधानसभाले संविधान जारी गर्न नसकेपछि पुन २०७२ सालमा भएको दोस्रो संविधानसभाले संविधान जारी गर्न सफल भएको छ । अहिले नवौं वर्षमा टेकेको संघीय लोकतान्त्रिक गणतन्त्रसँग नेपालको नयाँ संविधान, सात प्रदेश छन् भने गणतन्त्र स्मारक बनाउनका लागि तयारी पनि तिब्र भएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुने कार्यक्रम छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्रीको पनि सहभागिता रहने छ ।

राष्ट्रपति भण्डारी नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा आजै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा आठसय ८७ कैदीको बाँकी सजायँ माफी दिई रिहाइ गर्नुहुने भएको छ । उहाँले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठसय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गर्नुभएको हो ।

Comments