टोक्यो । जापानको एक व्यापारीले एक जोडी खरबुजालाई ३० लाख येन तिरेर खरीद गरेका छन् ।

सपोरोमा विहीवार भएको यो वर्षको पहिलो लिलाम बढाबढमा ती व्यापारीले यति महँगो मूल्यमा युबारी जातको खरबुजा खरीद गरेका हुन् । टिभी फुजीका अनुसार ह्योगो अञ्चलको अमागासाकीका एक सुपरमार्केट सञ्चालकले ३० लाख येनमा लिलाम जितेका हुन् । यो मूल्य गत वर्षको भन्दा दोब्बर हो ।

हरेक वर्ष यहाँ यस्तो लिलाम बढाबढ हुने गर्दछ । लिलाम जित्नुलाई यहाँका व्यापारीहरु आफ्नो प्रतिष्ठाको विषय ठान्दछन् । युबारी खबरबुजालाई जापानमा सम्पन्नताको प्रतीक मानिन्छ । त्यसैले साथीभाइ वा अरु कसैलाई कोसेलीका रुपमा केही लैजानुपरे यही खरबुजा रोजाईमा पर्ने गरेको छ ।

युबारी प्रजातिको खरबुजालाई खरबुजाहरुको राजा मानिन्छ । यसको अनुपम गुलियो स्वाद,चिटिक्क मिलेको गोलाइ र यसमा निहीत पोषक तत्वका कारण यसलाई खरबुजाहरुको राजा भनिएको हो । जापानमा युबारी पाक्ने हरेक सिजनको पहिलो दिन लिलाम बढाबढ हुने गरेको छ,जुन् परम्परा जस्तै बनेको छ । समृद्धि र सम्पन्नताको प्रतीक समेत मानिने भएकोले पहिलो दिनको लिलाममा एक जोडी युबारी खरबुजाका लागि लाखौं तिर्न व्यापारीहरुको तँछाडमछाड हुने गरेको छ ।

त्यहीक्रममा यो वर्ष एक जोडी युबारी खरबुजाले ३० लाख येन मूल्य पाएको हो । गिनिज बुकमा समेत विश्वकै सबैभन्दा महँगो फलको रुपमा जापानमा फल्ने युबारी खरबुजाले स्थान पाएको छ ।

यसअघि सन् २००८ मा पनि एक जोडी युबारी खरबुजा २५ लाख येनमा विक्री भएको थियो ।

Comments

comments