काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७२–०७३ को आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण बिहीबार संसदमा पेस गर्दैछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्नुअघि चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए, कस्ता कस्ता चुनौती सामना गर्नुपर्यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा छ ।

संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नेछ । अघिल्ला वर्षमा असार मसान्तको सेरोफेरोमा बजेट ल्याउने गरिन्थ्यो ।

पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाएर बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सजिलो होस् भन्ने उद्देश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको हो ।

आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाकाबारेमा समेत सदनलाई जानकारी दिने चलन छ ।

Comments

comments