मेलबर्न । मेलबर्नबाट प्रसारण हुने नेपाली अनलाइन टिभी हेल्लो अष्ट्रेलियाको पहिलो कार्यक्रम मेलबर्न एक्सप्रेसको प्रोमोशनल भिडियो सार्वजनिक भएको छ ।

गत आइतवारदेखि २ मिनेटको प्रोमो सार्वजनिक भएको मेलबर्न एक्सप्रेस कार्यक्रम पनि छिट्टै प्रसारण हुने बताइएको छ ।

कार्यक्रममा समसामयिक विषयवस्तुहरुमा पब्लिक माझ गएर उनीहरुको विचार र धारणा बुझ्ने प्रयास गरिनुका साथसाथै मेलबर्नमा बसोबास गर्दै आएका नेपाली समुदायको कला, भाषा, खाना, संगीत, कार्यक्रम र जीवनशैलीलाई प्रबद्र्धन गरिने बताइएको छ ।

भिडियोग्राफी र निर्देशनमा लामो समयदेखि कार्य गर्दै जीवन रसाइली र रेडियो संचारकर्मी रहिसकेका बुद्धिमान गुरुङको संयुक्त प्रयासमा हेल्लो अष्स्ट्रेलिया अनलाइन टेलिभिजन शुरु हुन लागेको हो । मेलबर्न एक्सप्रेसको प्रस्तोताका रुपमा समेत बुद्धिमान गुरुङ आफैं देखिनेछन् ।

आइभीएम प्रडक्सनको निर्माणमा शुरु हुने अनलाइन टिभीमा सुरुमा एउटा मात्र कार्यक्रम प्रसारण भए पनि क्रमशः थप्दै जाने योजना रहेको निर्देशक जीवनले बताए ।

Comments