काठमाडौं । सगरमाथा आरोहणका क्रममा पछिल्लो हप्तामै चार जनाको ज्यान गउको छ । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको हो ।

यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु परेको थिएन । यसबाट आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बनेका थिए । त्यसपछि पनि ज्यान जाने क्रम रोकिएन । यसबीचमा अरु तीन जनाले ज्यान गुमाएर हालसम्म यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो । यस्तै, आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ । गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो ।

सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २०० भन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।

Comments