काठमाडौँ । विभिन्न माओवादी समुहसँग एकीकरणपछि बनेको माओवादी केन्द्रमा दोस्रो वरियताको लडाईं सुरु भएको छ ।

दोस्रो वरियताका दाबेदार रहनु भएका यसअघिको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यसअघिको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव रामबहादुर थापावीच लडाईं हुने भएको हो ।

आइतबार बिहान राखेको माओवादी केन्द्र महाधिवेशन आयोजक कमिटीको बैठक यही विवाद समाधान गर्न दिउसो ३ वजेसम्मका लागि स्थगित गरिएको छ । शीर्ष तहमा बैठक बसी दोस्रो वरियताको विषय टुङ्ग्याएर मात्रै महाधिवेशन आयोजक समितिको बैठक बस्ने तय भएको माओवादी नेताले जनाएका छन् । माओवादी समुहहरुको एकीकरणपछि बनेको केन्द्रमा ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।

एकीकृत पार्टी हुँदा पनि पार्टीको महासचिव रहेको र युद्धकालमा पनि पार्टीको महत्वपूर्ण कमाण्ड सम्हालेका कारण रामबहादुर थापालाई दोस्रो वरियता दिनु पर्ने माओवादी भित्र दवाव छ । उता अहिले दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठलाई दोस्रो वरियता नदिए अप्ठेरो हुने चेतावनी पूर्व जनमोर्चा समुहले दिएको छ ।

श्रेष्ठलाई वरिष्ठ नेता सहित तेस्रो वरियता दिने प्रस्ताव पार्टीमा आएको वताइएको छ ।

पदाधिकारी राख्ने वा नराख्ने विषयमा भने सहमति जुटेको छैन । विवाद नआए अहिले नै पदाधिकारी चयन गर्ने र विवाद आए अहिलेलाई २१ सदस्यीय सचिवालय गठन गर्ने निश्कर्षमा शीर्ष नेता पुगेका छन् ।

दिउसो ३ बजे बस्ने बैठकले ५ महिनाको कार्ययोजना पारित गर्ने तयारी माओवादी केन्द्रको छ ।

Comments