मेलबर्न । मेलबर्नमा आइतवार हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ मा सहभागी हुन आधा दर्जन नेपाली कलाकारहरुको टोली मेलबर्न आइपुगेको छ ।

शनिवार मेलबर्न आइपुगेका कलाकारहरुको टोलीमा चर्चित लोक गायक मिलन लामा,नेपाली तारा २ का विजेता एवम् युवा पुस्ता माझ लोकप्रिय गायक सन्तोष लामा,लोक गायिका ज्योति मगर, पिरतिको छाता ओढौंला फेमका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र हाँस्य कलाकार राजाराजेन्द्र पोखरेल रहेका छन् ।

आइतवार हुने कार्यक्रमबारे जानकारी दिन शनिवार साँझ मेलबर्नमा कलाकारहरुको उपस्थितिमा प्रेस मिटको समेत आयोजना गरिएको थियो । झण्डै एक महिनादेखि अष्ट्रेलियाका विभिन्न राज्यहरुमा प्रस्तुति दिदै आएका कलाकारहरुले नेपालीहरुको बाहुल्यता रहेको मेलबर्नमा पनि आफ्नो प्रस्तुति दिन पाउँदा प्रसन्नता व्यक्त गरे । यसैबीच आयोजक हाम्रो इभेन्टस्ले नाचौं गाऔं रमाइलो साँझ २०७३ मेलबर्न संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । कार्यक्रमलाई भव्य बनाउँन कुनै कसर बाँकी नराखिएको हाम्रो इभेन्टस्का विपिन बस्नेतले बताउँनुभयो ।

कार्यक्रम आइतवार इष्टोनियन हाउसमा हुने छ ।

Comments