काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।

पार्टीले शुक्रबार केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा राष्ट्रिय भेला हुने जानकारी दिएको हो । ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।

सो अवसरमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले भेलामा एक लाख संस्थापक सदस्यको सहभागितामा हुने दाबी गर्नुभयो । भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण गर्ने कार्यक्रम तय भएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले एकीकरण नभई ध्रुवीकरण अहिले मुलुकको आवश्यकता भएको बताउँनुभयो । नेपाली इतिहासले नयाँ विचार खोजेकाले ध्रुवीकरण अहिले आवश्यक भएको उहाँको जिकिर छ ।

राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवम् आन्तरिक सङ्गठनको आधार तथा विधानलाई जेठ ११ र १२ गते बस्ने सचिवालयको बैठकले अन्तिम रुप दिई सबैको सुझावका लागि सार्वजनिक गरिने पनि उहाँले बताउँनुभयो ।

नयाँ राजनीतिक धार एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने गरी विचार ल्याउन लागिएको पूर्वप्रधानमन्त्री डा भट्टराईले बताउँनुभयो । भेला सम्पन्न गर्न १४ उपसमिति गठन गरिएको जानकारी समेत दिइएको थियो ।

Comments