मेलबर्न । अष्ट्रेलियाको संघीय अदालतले पश्चिम सिड्नीमा सञ्चालित सेभेन इलाभेन मिनी मार्केटका सञ्चालकलाई ठूलो रकम जरिवाना तिराएको छ ।

आफ्ना कामदारलाई तलब नदिएकोमा सेभेन इलाभेनका शाखा सञ्चालक भारतीय मूलका हर्मानदीप सिंह सरकारीयालाई दुई लाख अष्ट्रेलियन डलर जरिवाना गरेको हो । अदालतले सरकारीयलाई व्यक्तिगत ३५७०० डलर र उनको कम्पनी अमृतारीय फोर प्राइभेट लिमिटेडलाई १७८,५०० डलर जरिवाना तोकेको हो । न्यायधीस जस्टिन स्मीथका अनुसार सरकारीय र उनको कम्पनीले अष्ट्रेलियाको श्रम कानूनको गम्भीर उल्लंघन गरेको बताए । यस्तै गलत काम गर्दै आएका कम्पनी र सञ्चालकहरुलाई पाठ सिकाउँन पनि यो प्रकरणमा जरिवाना गरिएको उनले बताए । सरकारीयले उनका कामदारहरुलाई प्रतिघण्टा १० डलर मात्र दिदै आएका थिए ।

अदालतको छानविनमा सरकारीयले सस्तो पारिश्रमिक दिएर पाकिस्तानी कामदारहरुलाई राखेको पाइएको थियो । सन् २०१२ देखि २०१४ को मार्चसम्ममा उनले ती कामदारहरुबाट झण्डै ४३,६३३ डलर घोटाला गरेको अदालतको जिकिर छ । पाकिस्तानकै एक किशोर कामदारलाई पनि सरकारीयले ५७९३ डलर तलब दिन बाँकी रहेको पाएको बताइएको छ । उनले अगष्ट २०१३ देखि अप्रिल २०१४ सम्म सरकारीयको सेभेन इलाभेनमा काम गरेका थिए ।

तर सरकारीयाले सेभेन इलाभेनको हेड क्वार्टरमा बुझाएको प्रतिवेदनमा भने सबै कामदारहरुलाई कम्पनी र अष्ट्रेलियन सरकारको नीति अनुरुपकै तलब दिएको उल्लेख भएको पाइएको अदालतले जनाएको छ ।

Comments

comments