-निरू त्रिपाठी

साढे दुई वर्ष पछि म नेपाल जाँदा सबैले गाली गरिरहेको एयरपोर्ट मलाई चौपट्टै मन पर्‍यो। सायद धेरै वर्षपछि आफ्नो माटोमा पाइला टेकेको भएर मलाई यस्तो लागेको होला। एयरपोर्ट बाहिर भुङ्ग उडिरहेको त्यो धुलो पनि मलाई मगमग वास्ना आइरहेको थियो ।

जब प्लेनले भुइँ टेक्यो मन शान्त भयो। मनले एकप्रकारको सुखद् अनुभूति गर्‍यो। म छाति फुलाएर ह्याण्ड क्यारी ब्याग गुडाउँदै ‘नेपालमा घर छ हामलाई केको डर छ’, भन्दै मस्तमग्नमा हिड्न थालेँ।

एयरपोर्टको झ्याल बाहिरको एउटा सानो बाटिकाका फूलहरू भूकम्पसँग युद्व जितेर मुस्कुराइरहेका देखेँ। आहा! भूकम्पलेसमेत झार्न नसकेको ती फूलहरूको मुस्कान हेर्नुको मज्जा नै अर्कै। एकछिनमा ‘चेकइन’ गर्ने ठाउँ आइहाल्यो।

एयरपोर्ट साना छ तर, मलाई मनपर्ने लुक्सको एयरपोर्ट छ। कलात्मक र क्लासिक लुक भनेपछि मरिहत्ते गर्ने मेरो मनलाई एयरपोर्टले तान्यो। मेरो आत्मासँग जोडिएको एयरपोर्ट।

मेरो एयरपोर्ट सम्बन्धिको सुखद् अनुभूति मेरो पुरानो साथीलाई पनि सुनाउन भ्याएकी थिएँ। मेरो अनुभूति सुन्ने वित्तिक्कै साथी आत्तिएर मलाई भनिन् ‘यू आर के.पि ओलिङ्गमी?’ म अलमल्ल परेँ र सोधेँ के भनेको यो?

कान्तिपुर टेलिभिजनमा देखिने स्टान्डप कमिडिएन सन्दिप क्षेत्रीलाई फ्ल्प खुवाउने डाइलग हो रे ‘आर यू के.पी ओलिङ्गमी’ धेरैवर्ष पछि भेटेको साथीसँग सैद्धान्तिक बहश गर्न मन लागेन। कुराको प्रसंग बदल्यौँ।

तर, मनभरी आफैं सन्तोष मानेर बसेँ-कसले भन्छ नेपाल लथालिंग छ? मेरो आत्मा जोडिएको माटो, एयरपोर्ट, घर, गाउँ, साथीभाइ, आफन्त कुनै कुरा पराइ लागेन, बिग्रेको लागेन। भत्केको लागेन।

अष्ट्रेलिया फर्केपछि नेपालमा रहेको अर्को मित्रसँग भाइबरमा कुरा गर्दै थिएँ। फेरि नेपालको एयरपोर्टकै बहश सुरू भयो।
मैले थाइल्यान्डको एयरपोर्टको उदाहरण दिँदै भने,‘मेरो देशको एयरपोर्टसँग मेरो आत्मा जोडिएको छ। एयरपोर्ट जस्तोसुकै होस् मलाई मन पर्न छाड्दैन। ‘तर यार, म सरकारलाई एयरपोर्ट पनि पर्यटकीयस्थल बनाउन सकिन्छ भन्ने सल्लाह दिन चाहन्छु।’ साथीले खित्का छाडिन्।

राज्यको आर्थिक पाटोलाई बलियो बनाउन एउटा एयरपोर्टमा मुलुकको संस्कार र संस्कृतिलाई सजाउन सकियो भने देशलाई धेरै तिरबाट फाइदा हुन्छ।

नेपालको सगरमाथाको प्रतिमूर्ति, बुद्धको मूर्ति, पशुपतिनाथ, जानकी मन्दिरको नमूना, तराई, पहाड र हिमाल झल्काउने सम्पदाको नमूना, मिथिला आर्ट, ऐतिहासिक कथाहरू विभिन्न धर्मका र जातजातिको केही अस्थित्व र अन्य कुराहरू सजाउन सकिन्छ एयरपोर्टमा।

एउटा सानो म्यूजियम होस्। नेपालमा पनि केही लामो घण्टाको ट्रान्जिट होस्। सरकार र सम्बन्धित निकायहरू रातारात तातिने हुन भने पाँच वर्ष भित्र असम्भव भन्ने केही छैन। साथीले फेरि मलाई उडाइन् ‘आर यू के.पी ओलिङ्गमी?’
फेरि मन खिसिक्क भयो।

आजकाल कसैलाई उडाउनु छ, कसैको मजाक गर्नु छ भने ‘आर यू के.प ओलिङ्गमी?’ भन्ने थेगो खुब चलेको छ। अचम्म! संसारभर बिज्ञानले असम्भव काम र कुरालाई सम्भव छ भनिरहेका बेला हामी सम्भव कामहरुलाई पनि असम्भव पार्न खोज्दैछौँ र भन्दै छौँ-‘आर यू के.पी ओलिङ्गमी?।’

देशको प्रधानमन्त्रीको भिजनको उपहास गर्छौ। ‘इट्स् टु मच’ भनेर गाली गरिरहेकै छौँ।

मुलुकको जिम्मेवार नेतृत्वले ‘नेपालको झण्डा बाहक पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउने र आफ्नै पानीजहाजले रेलसम्म सामान ओसार्ने कल्पना कसरी टु मच भयो?’ अनि दुई वर्ष भित्रमा आफ्नै देशमा खेर गइरहेको ग्यास र पेट्रोलियम पदार्थलाई उत्खनन् गरेर उपभोग गर्नू कसरी टु मच भयो?

आफ्नै जहाज हुँदा देशको अर्थतन्त्रमा कति धेरै सुधार आउन सक्ला भन्ने कुरामा हामी किन गम्भीर नभएका? प्रधानमन्त्रीले सही भन्नु भयो बरू यसलाई कसरी सम्भव बनाउन सकिन्छ भन्ने बारे बहस गरौँ। प्रधानमन्त्रीज्यूले बाचा गरेका विषयहरू पुरो होस भन्ने बिषयलाई दबाब दिउँ।

त्यो पिट्ट बाल्दा बल्ने ग्याँस। बुलेट ट्रेन होस वा, पानीजहाज यी सबै कुरालाई पुरा गर्नुपर्‍यो भनेर सकारात्मक दबाब चलाऔँ।
प्रधानमन्त्रीका भिजनहरू अरुपनि आँउदै गर्लान्। सँगै काम पनि गर्दै जानुपर्छ भन्ने बिबेकलाई नेतृत्वले स्वीकार गर्नैपर्छ भन्ने नैतिकतालाई स्थापित गरौँ।

प्रधानमन्त्री, नेता र जनता मिलेर यो कुरालाई गम्भीर रुपमा स्थापित गर्‍यौ भने अबको बीस वर्षमा यी सबै सपनाहरू विपनामा परिणत हुनेछन्।

कर्ण शाक्यको सोच र खोज किताब साह्रै मन पर्‍यो भन्छौ। निल आमस्ट्रले चन्द्रमा टेकेको कुरामा गर्व गर्छौ। राइटस् दाजूभाईले बनाएको प्लेन चढेर मख्ख छौं। दक्षिण कोरियाले ४० वर्षभित्रै देश विकास गरेको उदाहरण दिन्छौं।

दुबईमा समुन्द्रमाथि होटल बन्यो भन्ने कुरामा वाह वाह गछौं। तर हामी आफ्नो देशको प्रधानमन्त्रीले एउटा भिजन दिँदा किन यसरी ‘आर यू के.पी ओलिङ्गमी?’ भन्ने जोक्स गर्छौ?

-सेतोपाटीबाट

Comments

comments