काठमाडौं । २५६० औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौंमा शुरु हुँदैछ ।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार विहान ८ः३० बजे होटेल सोल्टीमा उद्घाटन गर्नुहुनेछ । बुद्ध जयन्ती समारोहको उद्घाटन भने लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाहरु बुधवार नै काठमाडौं आइसकेका छन् ।

‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र छ नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन्।

मूल गोष्ठीमा निस्किएको निष्कर्षको बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा घोषणापत्र जारी गरिने छ जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना रहने छ ।

गोष्ठीले भगवान् बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने सरकारको विश्वास छ ।

गोष्ठीले लुम्बिनीका अतिरिक्त अन्य बौद्ध केन्द्र तिरौलाकोट, देवदह, रामग्रामको समेत प्रचारप्रसार र विकासका लागि आधार निर्माण गर्ने र आन्तरिक बुद्ध परिक्रमा पथ निर्माणमा मद्दत पुर्याउने अपेक्षा छ ।

Comments

comments