मेलबर्न । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित अवैतानिक महावाणिज्यदूतको कार्यालयले ठगी उदेश्यले केही व्यक्तिहरुले कार्यालयको नाम लिएर फोन गरिरहेकोप्रति सचेत रहन नेपाली समुदायलाई आग्रह गरेको छ ।

न्यू साउथ वेल्समा रहेको नेपालीहरुलाई दिगभ्रमित पारि ठगी गर्ने उदेश्यले महावाणिज्यदूतको टेलिफोन नम्बरबाट फोन आउँने गरेको जनगुनासो आएको भन्दै कुनै भ्रममा नरहन नेपाली समुदायलाई आग्रह गरेको छ । महावाणिज्यदूत दीपक खड्काले बुधवार सामाजिक सञ्जाल मार्फत महावाणिज्यदूतको कार्यालयको हवला दिदै आउँने टेलिफोन कलहरुप्रति सचेत रहन अपिल गरेको हो । यसबारेमा आवश्यक छानविन गर्न प्रहरीलाई आग्रह गरिसकिएको खड्काले उल्लेख गर्नुभएको छ ।

त्यसरी आउँने टेलिफोन कलमा महावाणिज्यदूतको कार्यालयको टेलिफोन नम्बर ०२९४६००३८८ नम्बर आउँने गरेको जनगुनासो आएको खड्काले उल्लेख गर्नुभएको छ । टेलिफोन गर्नेले आफू महावाणिज्यदूत कार्यालयको कर्मचारी रहेको भन्दै अद्यागमन कार्यको लागि व्यक्तिगत विवरण दिन माग गर्ने गरिएको उल्लेख छ ।

सिड्नीका प्रतिष्ठित व्यवसायी समेत रहनुभएका खड्काले महावाणिज्यदूतले कहिले पनि व्यक्तिगत विवरण माग्ने नगरेको प्रष्ट पार्नुभयो । कुनै पनि कर्मचारीलाई कसैको व्यक्तिगत विवरण माग्ने निर्देशन पनि नदिएको उहाँको कथन छ ।

आफूहरु ठगिएको आभाष भए तुरुन्त प्रहरीलाई खबर गर्न पनि कार्यालयले नेपाली समुदायलाई सुझाव दिएको छ ।

 

Comments

comments