काठमाडौं । ट्राफिक नियममा कडाई गर्दै सरकारले जरिवानाको शुल्क २० गुणा बढाएपछि यातायात मजदुर सम्बद्ध संगठनहरु बिरोधमा उत्रिएका छन् ।

एकातिर दुर्घटना कम गर्न भन्दै सरकारले नियममा कडाई गरेको छ भने अर्कोतर्फ यातायात मजदुरहरुले नियम कार्यान्वायनमा ल्याउन अघि वातावरण बनाइदिन आग्रह गर्दै निर्णयविरुद्ध उत्रिएपछि अन्योल थप मडारिएको छ ।

सरकारले सडकमा ट्राफिक नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम बृद्धि गरेसंगै यातायात मजदुर संबद्ध संगठनहरुले यसको चर्को बिरोध गरेका छन् । यातायात मजदुर संबद्ध संगठनहरुले जेठ १३ गते देशभर चक्काजाम गर्ने निर्णय गरेको छ । १३ गतेसम्म पनि सरकारले माग नसुने १४ गतेबाट आन्दोलनका अन्य कार्यक्रम तय गर्ने महासंघको चेतावनी छ । पूर्वाधारको विकास नगरी जरिवानाको शुल्क बृद्धिले मात्र ट्राफिक नियम पालना हुन नसक्ने भन्दै बिरोधमा उत्रिएको नेपाल यातायात ब्यबशायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यता सर्बसाधारणहरु पनि ट्राफिकको नियममा सन्तुष्ट छैनन् । काठमाण्डौको सवारी चाप, सडकको अबस्था र ब्यबस्थित पार्किङ नहुदाँ सर्बसाधारण मारमा पर्ने बताउँछन् । अर्कोतिर नयाँ नियमका नाममा टाफिकले पुरानो कसुरमा पनि नयां शुल्क लिएकोले आफुहरु अन्यायमा परेको सर्बसाधारणको गुनासो छ ।

यता ट्राफिक महाशाखाले भने नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रालाई बढाएको जिकिर गरेको छ । जेठ १ गते देखि नयां नियम लागु भएकाले त्यस यता जरिवाना भुक्तान गर्न आउनेलाई नयां जरिवाना नै लागु हुने महाशाखाका सहप्रबक्ता राजेन्द्र प्रसाद भट्टको भनाई छ ।

ट्राफिकले नयाँ जरिवाना कार्यान्वायन अघि बढाईरहेको छ भने यसको बिरोध गर्दै यातायात मजदुर संगठनहरुले आन्दोलनमा उत्रिने बताएको छ । तर यसको समन्वय गर्ने जिम्मा लिएको गृह मन्त्रालय भने मौन छ ।

Comments