काठमाडौं । निरन्तरको फुटबाट कमजोर बन्दै गएको नेपालका माओवादी शक्तिहरुबीच यतिखेर पुनः एकता अभियानले नेपाली राजनीति तरंगित भएको छ । यहीबीचमा विभिन्न चार माओवादी पार्टीहरुबीच एकता घोषणाको अन्तिम तयारी भएको छ ।

सहमति अनुसार यही जेठ ६ गते दिउँसो दुई बजे भृकुटीमण्डपमा एकताको घोषणासभा हुनेछ । एकीकृत नेकपा माओवादी, पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा (माओवादी) र विप्लव माओवादीका केहि नेताहरुबीच एकता हुन लागेको हो ।

यसअघि देशभरबाट कार्यकर्ताहरु राजधानीमा उतारेर खुलामञ्चमा घोषणासभा गर्ने तयारी थियो । तर, हाल पुरानो बसपार्क स्थल बनाइएकाले ठाउँ साँघुरो हुने भन्दै भृकुटीमण्डपमा घोषणा सभा गर्न लागिएको छ । ठाउँकै अभावले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरु नओसार्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

एकताको घोषणा तयारी भएसँगै नेताहरुको पद विभाजनप्रति सबैको चासो बढेको छ । तर कुन नेतालाई कुन पद दिने भन्ने टुंगो अझै लागिसकेको छैन । एकतापछि नयाँ पार्टीमा रामवहादुर थापा बादल उपाध्यक्ष रहने भने पक्का भएको बताइएको छ । नारायणकाजी पछि तेस्रो बरियतामा बादल रहने चर्चा छ ।

यसैगरी देव गुरुङ र पम्फा भुसाललाई सचिव बनाउने गरी छलफल चलिरहेको छ ।

त्यसो त एकता महाधिवेशनमा नजाँदासम्म नेताहरुको पद बाँडफाँड नगर्ने विषयमा पनि छलफल चलिरहेको छ । त्यसो भए प्रचण्डलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएर अरु सबै सदस्य रहने सम्भाबना बढी छ ।

Comments