काठमाडौं । बिश्व शान्तिका अग्रदुत बुद्धजन्मस्थलमा रहेको पबित्र बिश्व शान्ति द्धिपको ज्योति सगरमाथा आधार शिबिर सम्म लैजाने भएको छ ।

लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार गर्ने लक्ष्य सहित आईतबार यो अभियान शुरु भएको हो । लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच ओलम्पियनहरु बैकुन्ठ मानन्धर,कृष्ण बस्नेत ,खडग रानाभाट,अन्तर्राष्ट्रिय खेलाडी शाहबानु खानलाई लुम्बिनी बिकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो,लुम्बिनी बिकास कोषका सदस्य सचिब अजितमान तामाङ र चिनिया तथा थाई बौद्ध बिहारका प्रमुखहरुले संयुक्त रुपमा बिश्व शान्ति द्धिपको ज्योति हस्तान्तरण गरे । शान्ति द्धिपको ज्योति सहित ओलम्पियन एबं धावकहरु मायादेबी मन्दिर,अशोक स्तम्भ र पबित्र पुष्करनी कुण्डलाई तिन पटक परिक्रमा गरी लुम्बिनीमा रहेका बिभिन्न स्वदेशी एवम् बिदेशी बिहारमा पुगेका थिए ।

त्यस लगत्तै ज्योति सहितको टोली कपिलबस्तु तिलौराकोटा,पबित्र बाण गंगा नदि पुगेर पुनः लुम्बिनीबाट भैरहवा हुदै बुद्धअस्तु धातु रहेको स्थल परासीस्थित रामग्राम पुगेका थिए । त्यहाँबाट सडकमार्ग हुँदै टोली काठमाण्डौतर्फ लागेका छन् । पहिलो पटक परीक्षणका रुपमा सुरु गरेको यो अभियानको सार्थकता मूल्यांकन गरेर प्रत्येक बर्ष आयोजना गर्दै जाने आयोजक सस्थाका अध्यक्ष बिक्रम पाण्डेले बताउँनुभयो ।

लुम्बिनीलाई सगरमाथासंग जोडिदिएको यो कार्यक्रमले बिश्वको पर्यटन क्षेत्रमा सगरमाथा र लुम्बिनीको थप प्रचार हुने अपेक्षा गरिएको छ । ओलम्पियन बैकुन्ठ मानन्धरले शान्ति ज्योतिलाई सोमबार काठमाण्डौ बौद्धनाथ र स्वयम्भु नाथमा लगेर बिशेष पूजा गरि सगरमाथा आधार शिबिरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

ज्योति सहीत ओलम्पियनहरु सल्लेरी,फाप्लु,लुक्ला,नाम्चे बजार,स्याङबोचे हुदै मे २७ अर्थात जेष्ठ १४ का दिन सगरमाथा आधार शिबिरमा पुग्नेछन् ।

शान्ति द्धिपको ज्योतीलाई मे २८ र २९ मा (एभरेष्ट डे) का दिन सगरमाथा आधार शिबिरको परिक्रमा गराईने छ । सोही दिन बिश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १४ औं सस्करण सुरु हुने छ ।

Comments

comments