काठमाडौं । मधेसी दल सहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गर्दैंछ ।

शनिबारबाट काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेको गठबन्धनले आज सिंहदरबार घेराउ गर्न लागेको हो । गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्न चारवटा नाका प्रयोग गर्ने तयारी गरेको छ । विहान नौ बजे दुईवटा नाका प्रयोग गर्नेछ । धर्नामा बस्नका लागि गठबन्धनका नेता कार्यकर्ता माइतीघर मण्डला र हनुमानस्थानमा पुग्दैछन् । त्यहाँ उनीहरु विहान नौ बजेदेखि धर्नामा बस्नेछन् । मध्यान्ह १२ बजेपछि पद्मोदयमोड र भद्रकालीमा धर्ना थपिने कार्यक्रक्रम रहेको छ ।

बिहान नौ बजेबाट सुरु भएको घेराउ बेलुका पाँच बजेसम्म चल्नेछ । त्यसपछि गठबन्धनका कार्यकर्ता पार्टीले तोकेको आवासमा जानेछन् । दिनभरि सांस्कृतिक कार्यक्रम, कविता बाचन, भाषण र हास्यव्यंग्य प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ ।

सिंहदरवार घेराउ कार्यक्रम अन्तर्गत समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा नेतृत्व गर्ने छन् । यस्तै तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् ।

मधेसी दलले शक्ति प्रदर्शनसहित सिंहदरबार घेराउ गर्न लागेसँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बिहानैबाट सिंहदरबार आसपासका क्षेत्रमा सुरक्षाकर्मिको उपस्थिति बाक्लो रहेको छ ।

भीड तथा नारा जुलुश नियन्त्रणका लागि आइतबारदेखि नयाँ सुरक्षा रणनीति कार्यान्वयन हुँदै छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी एकीकृत रुपमा खटिने छन् । नयाँ रणनीतिअनुसार पहिलोपटक नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिन लागेका हुन् ।

सिंहदरबार आसपासका क्षेत्र निषेधित क्षेत्र भएकाले आन्दोलनकारी र प्रहरीबीच झडप हुने संभावना भएकाले पुनः प्रहरीको तैनाथी बाक्लो बनाइएको छ ।

Please follow and like us:

Comments