आज नाग पन्चमी, विश्वभरका हिन्दूहरुले नागको चित्र आफ्नो घरको मूल द्वारमा टाँसी नाग पन्चमी मनाउँदै छन्। श्रावणशुक्लपाचमीका दिन नागको विशेष चित्र लेखेर दही दूध लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरुमा नाग टाँस्ने गरिन्छ ।

नागको शिर भाद्र आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर पुस माघमा नागको शिर दक्षिणतिर हुन्छ। त्यस्तै फागुन चैत्र वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने ज्यॆष्ठ आषाढ श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ। नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ भन्ने प्रचलन छ |
वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ। पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ। त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन्।
नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ  गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ  । नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो।
आज नाग पंचमीको अवसरमा ललितपुरको धापाखेलमा पर्ने नागदह, काठमाण्डौको टौदह  र नक्सालको नाग पोखरीमा भक्तजनहरुको बिहान देखिनै भिड लागेको छ।

Comments

comments